Breaking News

आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो

आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल तेस्रो भएको छ। आज भएको खेलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।

ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १६।२ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५३ बलमा नटआउट ५५ रन जोड्ने क्रममा ३ चौका र २ छक्का हिर्काए।

यस्तै आरिफ शेखले नटआउट २१ रन जोडे। उनले २७ बल खेल्दा १ चौका प्रहार गरे।

त्यसअघि अर्का ओपनर आसिफ शेख १३ रनमा आउट भएका थिए।

सेमिफाइनलमा पराजित भएका दुवै टिम टी-२० विश्वकपमा पुग्न भने असफल भएका थिए।

त्यसअघि अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन जोड्यो।

नेपालले दोस्रो ओभरदेखि नै ओमानको विकेट लिन सुरु गरेको थियो। १० ओभरसम्ममा ओमानले ४ विकेट गुमाउँदा ३१ रन मात्र जोडेको थियो।

ओमानका ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंह २ रनमा रनआउट हुँदा काश्यप प्रजापति ५ रनमा आउट भए।

यस्तै सोइब खान ३ रन र मोहमद नदीम १ रनमा पेभिलियन फर्के। कप्तान जीसन मक्सूदले २१ रन जोडेका थिए भने आयन खानले १६ रन बटुले।

सन्दीप गोउड १ रन र नेस्टर धम्माले ३ रन भन्दा बढी जोड्न सकेनन्।

सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि नीशम खुसीले १५ रन जोडे भने कालीमुल्लाहले नटआउट १४ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले चार ओभरमा १३ रन खर्चिए।

कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले १-१ विकेट लिए।