५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ ।
तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् ।
आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ । दुवै खेल दिउँसो एक बजे सुरु हुनेछ ।
उपाधि मछिन्द्रले जितेपछि अब मनाङको लक्ष्य दोस्रो स्थानमै रहेर लिग सक्ने हुनेछ । १० खेलबाट मनाङको २० अंक छ । आजको खेल जिते मनाङले तेस्रो स्थानको आर्मीमाथि ४ अंकको अग्रता बनाउनेछ ।
उता एपीएफ १० खेलबाट ११ अंकसहित ११औं स्थानमा छ । मनाङलाई पराजित गर्न सके एपीएफ रेलिगेसनबाट बच्नेछ ।
अघिल्लो खेलमा संकटासँग बराबरी खेलेपछि एपीएफका प्रशिक्षक कुमार थापाले रेलिगेसनको चिन्ता अझै रहेको बताएका थिए ।
एपीएफले अझै पुलिस र मछिन्द्रसँग खेल्न बाँकी छ ।
यस्तै शीर्ष तीनमा रहने लक्ष्य बनाएको संकटाले एन्फा कम्प्लेक्समा एनआरटीसँग खेल्नेछ । संकटा १५ अंकसहित पाँचौ स्थानमा छ भने एक अंक कम रहेको एनआरटी सातौं स्थानमा छ ।