केलियन एम्बाप्पेको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ।
पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको हो।
पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई निकै दबाबमा राखे पनि गोलका लागि निकै अन्तिमसम्म कुर्नु परेको थियो।
एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
एम्बाप्पे, नेइमार र मेसीसहितको पिएसजीले गोल गर्ने केही राम्रा मौका गुमाउँदा अन्तिम समयसम्म कुर्नु परेको थियो।
त्यसअघि खेलको ६२औं मिनेटमा मेसी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन मौका गुमाएको थियो। ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एम्बाप्पेलाई फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएका थिए। तर, मेस्सीको पेनाल्टीलाई गोलकिपर कोर्टुवाले बचाएका थिए।
चोटका कारण नोभेम्वर यता पहिलोपटक मैदान छिरेका नेयमार ७२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए।
पहिलो लेगमा पाएको जितसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पिएसजीले अन्तिम आठको यात्रा तय गर्नेछ। दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुनेछ।