छिमेकी युक्रेनको सीमामा पुगेका झन्डै १ लाख ३० हजार बढी रूसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेका छन्।
रूसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले रूसी सैनिकहरू ब्यारेकमा फर्किन लागेको उल्लेख गरेको छ।
रूसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरू आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ।
सैनिकहरू कोही रेल, कोही गाडी र कोही पैदल फर्किने समाचारमा उल्लेख छ।
केही समयदेखि रूसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो।
अमेरिकालगायत मुलुकहरूले आफ्नो नागरिक र कूटनीतिज्ञलाई युक्रेन छोड्न भनेका थिए।
रूसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो।
युक्रेनको सीमामा खटिएका कति सैनिक ब्यारेक फर्किएका हुन् भन्नेबारे विस्तृत विवरण आइसकेको छैन।
रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए। अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग एक घन्टा टेलिफोनमा कुराकानी गरेका थिए।
राष्ट्रपति बाइडेनले रूसले फेब्रुअरीमा युक्रेनमाथि हमला गर्न सक्ने बताएका बेला आफ्ना सैनिकहरू फिर्ता बोलाएर रूस तत्काललाई पछि हटेको देखिन्छ।
कुनैबेला आफ्नो सबैथोक चल्ने केइभको सत्ता अहिले युरोपियन युनियन र नेटोसँग जोडिन लागेपछि रूसले सीमामा सेना उतारेको हो। रूस(युक्रेन सीमामा बढिरहेको तनावसँग रूस र युक्रेनको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।
गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।
ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।
युक्रेनको उत्तरमा पर्ने बेलारूसमा ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आइपुगेका छन्। रूस र बेलारूसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारूसमा रूसी सेना पुगेको अनुमान गरिएको छ। रूस र बेलारूसले केही दिनअघि संयुक्त सैन्य अभ्यास पनि गरेका छन्।
रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।
बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी केइभ नै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।
केइभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।
रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन ९इयू० को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।
युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन ९नेटो०को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।
युक्रेनलाई तीनतिरबाट आफ्ना सैनिकले घेरेर मस्कोले अहिले कूटनीतिक वार्ताहरूमा यही कुरालाई अघि सारेको छ। केही दिनअघिमात्रै मस्कोले वासिङ्टनलाई पठाएको पत्रमा नेटोले युक्रेनलाई सदस्य बनाउन नहुने माग राखिएको थियो। जुन कुरा अमेरिकाले ठाडै अस्वीकार गरेको छ।
केही दिनअघि इयू र अमेरिकी अधिकारीहरूसँग भएका रूसी अधिकारीका वार्ता असफल भएका छन्। वार्ता असफल भएपछि अब रूसले युक्रेनमा अतिक्रमण गर्ने अनुमानहरू गरिएका छन्। रूसले युक्रेनमाथि कसरी हमला गर्न सक्छ भन्नेचाहिँ यकिन भइसकेको छैन। युक्रेनमाथि हमला गरे पश्चिमा मुलुकहरूले युक्रेनलाई गर्ने सैन्य सहायता, रूसी अधिकारीमाथि लगाउने प्रतिबन्धबारे पुटिन पक्कै जानकार छन्। पश्चिमाहरूसँगको सम्बन्ध मात्रै होइन युक्रेनी सेना पनि २०१४ को भन्दा अहिले बलियो भएको छ। उसले रूसी सेनालाई हराउन त नसक्ला तर उल्लेख क्षति भने गराउन सक्छ।