चर्को विरोध र दबाब पछि अध्यादेश फिर्ता लिने मुडमा प्रधानमन्त्री

बैशाख ११, काठमाण्डौ । हालै मात्र सरकारले ल्याएको दुई बिधेयकमाथिज पार्टी र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः अध्यादेश फिर्ता लिन तयार गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन् । दुबै नेताको दबाबपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बुझिएको छ । प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ ।
संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
स्थायी कमिटीका २० जना सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गरेलगत्तै नेकपा अध्यक्ष ओली र प्रचण्डबीच बिहीबार छलफल भएको हो । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।