Breaking News

च्यासल युथ क्लबविरुद्ध विभागीय टोली नेपाल पुलिस क्लबको संघर्षपूर्ण जित

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो ।

यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो । पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए ।

५३ औं मिनेटमा च्यासलले खेलमा फर्किने संकेत देखायो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए । ७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो । खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रुपैयाँ नै पाए ।

जितसँगै पुलिसले ९ खेलबाट सहिद स्मारक ए डिभिजन लिग तालिकामा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ भने च्यासलले ९ खेलबाट ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । लिगमा अब दशौैं चरणका खेल शुक्रबारबाट हुँदै छन् ।