आज आमाको मुख हेर्ने दिन आमाप्रति श्रद्धा सुमन र सम्झना पनि

११ वैशाख, काठमाडौं । आजकै दिन हो मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज मानिसहरु आफूलाई जन्म दिने आमालाई सम्झदै श्रद्धा र सम्मान व्यक्त गर्दै सामाजिक संजाल र अन्य शक्तिपिठमा गएर आमाको स्वास्थ्य, दिर्घायुको कामना गरेर मनाइरहेका छन् ।
देशमा कोरोना भाइरसका कारण लकडाउन भएका कारण पहिलाको जस्तो नभए पनि आमासँगै भएकाहरु घरमै आमासँग बसेर नुहाइधुवाइ गरी आमालाई भेटेर मिठा खानेकुरा र उपहार दिइ आशिर्वाद लिने गर्दछन् भने आमाबाट टाढा भएकाहरु फोन मार्फत्, अहिले त सामाजिक संजाल भिडियो कल मार्फत् र फेसबुब मार्फत् समेत आमालाई सम्झिरहेका छन्, तर आमा नभएका र स्वर्गबास भएकाहरुका लागि भने काठमाण्डौंको मातातिर्थ कुण्ड र अरु मठमन्दीरमा गएर आमाप्रति श्रद्धा सुमन प्रकट गरिरहेका पनि छन् । यस्तै आज आमाको मुख हेर्ने दिन सधैं मेला लाग्ने काठमाडौंको मातातीर्थ भने सुनसान छ । मातातीर्थ मन्दिर, जलासय लगायतका स्थानमा प्रवेश गर्ने गेट बन्द गरिएको छ । तर, आमाप्रतिको माया स्नेहलाई मानिसहरु गेट बाहिरैबाट हेरेर पनि आमालाई सम्झिरहेका छन् ।
मानिसहरु आज बिहीबार बिहानै लकडाउनलाई बेवास्ता गर्दै पूजाआजा गरेर फर्केका पनि छन् । मातातीर्थबाट पानी बग्दै आएको खोलामा भए पनि पूजा गरिरहेका मानिसहरु थिए । हातमा फलफूल, धूप, दीप लिएका केही मानिसहरु खोलामा थिए ।  हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन, तर हाम्रो साँस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।