तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइललाई अतिरिक्त समयमा हराउँदै चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ।
प्रिमियर लिग क्लब चेल्सीले घरेलु मैदानमा १–० ले पछि परेको स्थितिबाट अतिरिक्त समयमा २–१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
चेल्सीको जितमा कप्तान सिजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गरे। प्लिमाउथका मेकोउले गिलेस्फेले गोल गरेका थिए।
स्टामफोर्ड ब्रिजमा शनिबार राती भएको खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै प्लेमाउथलाई सुरूआती अग्रता दिलाएका थिए।
खेलको ४१औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।
खेलको ११७ औं मिनेटमा रायन हार्डी पेनाल्टीमा चुक्दा प्लिमाउथ पराजित हुन पुग्यो।
मालाङ सारले पेनाल्टी बक्समा हार्डीलाई नै फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा प्लिमाउथलाई पेनाल्टी प्रदान गरेका थिए। तर, प्लेमाउथका रायन हार्डीको पेनाल्टी प्रहार चेल्सीका गोलकिपर केपाले उत्कृष्ट बचाउ गर्दै चेल्सीको जित पक्का गरे।