पार्टी एकतासँगै दुबै पार्टीमा असन्तुष्टि अनिल झा राजकिशोरले छुट्टै पार्टी बनाउने

बैशाख १०, काठमाण्डौं । काठमाडौं आज बुधबार अबेर रातीभित्र समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । तर एकतालाई लिएर राजपामा असन्तुष्टि देखिएको
छ । एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएको हो ।
दुवैजना काठमाडौंमै छन् तर बैठकमा गएनन् । उनी दुवैजना शुरुदेखि नै एकीकरणको पक्षमा थिएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए । उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो तर उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए ।
एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए । अनिल कुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने स्रोतले जनाएको छ ।