१८ माघ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पारेको छ । तर खेल केही समय तनावपूर्ण भएको थिये ।
नेपाली खेलाडी सुजल श्रेष्ठले खेलको १० मिनेटमै गरेको गोल निर्णयक बन्दै नेपालको जित भएकोे थियो । तर नेपालले ९ खेलाडीमा झरेको मरिससलाई १-० ले हराएको थियो ।
आजकै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाए । सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए ।
लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए । मंगलबारको खेलको म्यान अफ दि म्याच चेम्जोङ नै बने ।
पहिलो हाफमै नेपालले थप गोल गर्ने मौका गुमायो । ३६औं मिनेटमा तेज तामाङले करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । यस्तै ३९औं मिनेटमा दर्शन गुरुङले पुजन उपरकोटीको फ्रिकिकमा हानेको हेडर पोष्ट माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफको अन्त्यतिर मरिससले नेपालमाथि दबाव बनाएपनि गोल भने फर्काउन सकेन ।
यसअघि शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले ।
दोस्रो हाफको शुरुमै मुख्य प्रशिक्षक अलमुताइरीले डेब्युटान्ट डिफेण्डर नविन गुरुङ र फरवार्ड आशिष लामाको स्थानमा मनिष डाँगी र विमल घर्ती मगरलाई मैदान पठाएका थिए । त्यसपछि पुजनले डिफेन्समा झरेर खेले ।
५२ औं मिनेटमा मरिससका ब्राभिस रासडारिसिङको कर्नरलाई किरणले पन्च गर्दै गोलको खतरा टारेका थिए । तर त्यसमा कास्टल रोडनीले गोल गर्ने अवसर गुमाए ।
६२औं मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्ने अवसर गुमाए । यस्तै ६८औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले पन्च गर्दै बचाए ।
दोस्रो हाफमा तनाव, तीन खेलाडीलाई रातो कार्ड
दोस्रो हाफ तनावपूर्ण बन्दा मरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाए । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए ।
यस्तै ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । अन्तिम दश मिनेट मरिसस ९ खेलाडीमा समेटिएर खेल्दा नेपालले पनि दश खेलाडीमा रहेर खेलेको थियो ।