रातारात पार्टी एकता पार्टीको नाम जनता समाजवादी

१० वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच आज बुधबार अबेर राति केही घन्टा अद्धि पार्टी एकता घोषणा भएको छ । दुई पार्टी एकता भएपछि नाम ’जनता समाजवादी’ राखिएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो । पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन् । समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरिएको बुझिएको छ ।