स्थायी कमिटीको बैठक बोलाउन अध्यक्षद्धयलाई हस्ताक्षर बुझाईयो

१० वैशाख, काठमाडौं । पछिल्लो राजनीति परिघटना र कोरोना भाइरसका रोकथाम तथा नियन्त्रण लगायतका सावालमा रहेर नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गरेका छन् ।
बैठक बोलाउन माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वेदुराम भुसाल र भीमप्रसाद आचार्य छन् । यसैगरी भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेलले पनि बैठक बोलाउन माग गरिएको पत्रमा हस्ताक्षर गरेका छन् ।
‘देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं,’ पत्रमा लेखिएको छ ।
स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छौं । पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधानलाई सहज तुल्याउने एवं पार्टीप्रतिको जनविश्वासलाई बलियो बनाउनेतर्फ नेतृत्वबाट पहल हुने उनीहरुले अपेक्षा समेत गरेका छन् ।