भारतीय नाका तत्काल खुल्दैनन् र लकडाउन पनि लम्बिन सक्छ – प्रधानमन्त्री

बैशाख १०, काठमाण्डौं ।
दुई दिन अघि भएको राजनीतिक परिघटनालाई मन्थर पार्ने हेतुलेले आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई ब्रिफिङ गरेका छन् । अध्यक्षद्धयले प्रदेश–प्रदेशका सांसदलाई फरक–फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे ब्रिफिङ गरिरहेका छन् ।
बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ पनि सहभागी थिए । ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले तत्काल भारत संगको नाका खुल्ने सम्भावना नरहेको बताए । ‘भारतसंगको नाका खुल्ने कुरै छैन । देशभित्र लकडाउन लम्बिनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसदले भनेका छन् । केही सांसदहरूले अध्यादेश मन्त्रिपरिषदले पास गरेको केहीबेरमै राष्ट्रपतिले किन हस्ताक्षर गर्नुभयो ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले सरकारले पठाएपछि तुरून्त र ढिलाको कुरै नहुने बताए । सांसदहरुले उक्त अवसरमा प्रधानमन्त्री ओलीले कसैलाई बलियो र कसैलाई कमजोर बनाउने हिसाबले अध्यादेश नल्याएको समेत बताएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले अहिलेको अवस्था आएको बताए ।
‘प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थाल्यो । सरकारले गर्नुपर्ने धेरै काम छन्, जुन हामीले गर्न सकेका छैनौं,’ ब्रिफिङमा प्रधानमन्त्री ओलीले भने,‘जेमा पनि भाग खोज्ने र नियुक्ति हुन नदिने भएपछि अध्यादेश ल्याउनु परेको हो ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरसविरूद्धको लडाइँमा सांसदहरूलाई पनि केही भूमिका दिने बताएका थिए । प्रधानमन्त्रीले ब्रिफिङ कै क्रममा भारतीय नाका तत्काल खुल्दैनन् र लकडाउन लम्बिन पनि सक्छ भनेर भनेका छन् ।