ढुक्क हुनुहोस् पार्टी फुट्दैन, अझ मझबुत र खरिएर जान्छ – प्रधानमन्त्री

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरुलाई नेकपा कमजोर हुन्छ भन्ने नठान्न आग्रह गरेका छन् । आज बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत संगै राखेर छलफल गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश पछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाही बाट नेकपा कमजोर हुने नभइ थप मजबुत बन्दै जाने बताएका
हुन् ।
‘राजनीतिक पार्टी विचारले एकताबद्ध हुन्छ । हाम्रो पार्टीमा विचार छ । पार्टीले अघि सारेको विचारलाई सबैले आत्मसात गर्ने कुरा हो । अहिले अध्यादेशका
बारेमा धेरै कुरा बाहिर आएका छन् । कतिपयले अध्यादेशका कारण नेकपा कमजोर भयो सक्कियो समेत भनेको सुनेको छु । तर तपाईंहरु ढुक्क हुनुस् नेकपा कमजोर हुदैन, बरु बलियो बन्छ’, प्रधानमन्त्री ओेलीले सांसदहरुलाई आश्वसन दिंदै भनेका थिए ।
पार्टीमा समेत छलफल नै नगरी सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश संशोधन गर्दै खुकुलो पारेकोे थियो भने संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि संशोधन गरेको थियो ।
सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए । हामीले हाम्रो पार्टी बलियो बनाउने हो । अरुले पनि आआफ्नै पार्टी बनाउने हुन् । हामीले अर्काको पार्टी बनाउने होइन । त्यसैले तपाईंहरु आत्तिनु पर्दैन । नेकपा र सरकारले बाटो बिराएको छैन’, लोकतान्त्रिक अभ्यास अनुसार नै अध्यादेश ल्याएको
हो । अब त्यो संसदमा जान्छ । छलफल हुन्छ । पारित हुने नहुने संसदले नै गर्छ । त्यसैले तपाईंहरु के के न भयो भनेर आत्तिनुपर्ने अवस्था छैन । छलफलमा प्रदेश २ बाहेक सवै प्रदेशका सांसदहरु सहभागी बनेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले भने नेकपाको स्थापना दिवसबारे शुभकामना मात्रै व्यक्त गरेका थिए । बांकी अधिकांश समय ओलीले मात्रै अध्यादेश, सरकार र लकडाउन बारे सरकारका योजना सुनाएका थिए ।
छलफलमा सुदूरपश्चिम प्रदेश, प्रदेश एक, वागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली र प्रदेश पांचका सांसदहरु सहभागी थिए । यस्तो बेलामा संविधान अनुसार नै अध्यादेश ल्याएको हो । यो नियमित र प्रक्रियागत काम नै हो, यसले पार्टी फुट्दैन ।