न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु

२६ पुस, काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् ।

अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोले १९ तले उक्त भवनका हरेक तलामा घाइतेहरुलाई फेला पारेको र त्यहाँ अत्यधिक धुँवा भएको बताएका छन् । समाचार एजेन्सी एनबीसी न्यूजसँग उनले भनेका छन्, आगलागीबाट न्यूयोर्कमा भएको यो मृत्यु ३० वर्षयताकै सबैभन्दा खराब हो ।

फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी भएर आठ बालबालिकासहित १२ जनाको ज्यान गएको केही दिनमै न्यूयोर्कमा यो घटना भएको हो ।

स्थानीय समय अनुसार आइतबार राति ११ बजे ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । तर त्यसको धुँवा सबै तलामा फैलिएको पाइएको छ ।

करेन्ट सट भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

आगो निभाउनका लागि दुई सय जना अग्नि नियन्त्रकहरु परिचालन गरिएको थियो ।