करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४(१ गोलअन्तरले विजयी भएको हो ।

खेलको ४३ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको ७६ औँ मिनेटमा गोन्कालो गुइडेसले प्रहार गरेको पेनाल्टीलाई थियाबट कोर्टवाले रोके पनि रिबाउन्डमा गोल गर्दै उनले टोलीका लागि एक गोल फर्काए ।

खेलको अन्त्यतिर अर्को गोल गर्दै बेन्जेमाले रियलको जीत सुनिश्चित गरे । योसँगै बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा ३०१ गोल गर्न सफल भएका छन् । क्लबका लागि सबैभन्दा धेरै गोल गर्नेमा उनीभन्दा अघि अब क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डी स्टेफानोमात्र रहेका छन् ।

उता, ड्यानी आल्भेस ला लिगामा फर्किएको खेलमा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । १(१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले लिगको तेस्रो स्थानमा उक्लिने अवसर गुमायो ।

लुक डि जोङले दोस्रो हाफको सुरुवातमा बार्सिलोनालाई अग्रता दिलाए पनि खेलको अन्त्यतिर एन्टोनियो पुएरटासले गोल गर्दै खेल बराबरीमा गरेका थिए । यसअघि गाभीले दोस्रो पहेँलो कार्ड खाएपछि बार्सा १० खेलाडीमा सिमति बनेको थियो । ग्रानाडा पछिल्ला सात खेलमा अपराजित रहेको छ ।

२१ खेलपछि रियलको ४९ अंक रहेको छ भने २० खेल खेलेको बार्साको ३२ अंक छ । अन्य खेलमा लेभान्तेले मायोर्कालाई र रियल सोसिडाडले सेल्टाभिगोलाई हरायो ।