देउवाले प्रचण्डको प्रशंसा प्रचण्ड मक्ख

११ पुस, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को आजबाट सुरु भएको ८औं महाधिवेशनको उदघाटन कार्यक्रममा शुभकामना दिने क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर आफ्नो सम्बोधनको सुरुमै प्रचण्डको प्रशंसा गरे । नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका देउवाले, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभा को चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’

प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधान बनाउन पनि प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान रहेको सबैले मान्नुपर्ने देउवाको तर्क छ ।

त्यसपछि देउवाले पाँचदलीय गठबन्धनबारे बोले । संविधान र संसद बचाउन गठबन्धन गरेको भन्दै उनले भने, ‘ओलीजीहरुलाई पनि हाम्रो खिलापमा गठबन्धन गर्‍यो भने नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो । त्यसमानेमा यो गठबन्धन पुरा समयसम्म चल्नेछ । म त के चाहन्छु, भने अझ अगाडि जाओस् ।’

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डले चाहेजस्ता मात्र बोलेनन्, आफूले चाहेको पनि सत्तारुढ माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुलाई सुनाएका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गर्न चाहन्छु भने तर सत्तारुढ गठबन्धनमै यसबारे सहमति जुटेको छैन । माओवादी केन्द्रमै पनि एमसीसीबारे चर्को मतभेद छ । प्रचण्डले एमसीसी संसदमा टेबल गर्नसम्म सहमति दिएपनि यथास्थितिमा अनुमोदन गर्न नहुने मत बलियो छ ।

प्रधानमन्त्री देउवाले ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन ? पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन ।’

म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ, म किन राष्ट्रघात गरौंला ?’

एमसीसी नेपालको हितमा रहेको भन्दै उनले सित्तै आएको पैसा चाहिन्न भन्न नहुने बताए । ‘वर्ल्ड बैंक, एडीबीजस्ता दातृ निकासयसँग ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागू हुने भन्दै उनले भने, ‘एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या १’

प्रचण्ड र अरु नेताहरुसँग छलफल भइरहेको भन्दै प्रधानमन्त्रीले सहमतिकै आधारमा एमसीसीलाई संसदबाट पास गर्ने विश्वास व्यक्त गरेका थिए ।