उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको शंका

९ फागुन, उदयपुर । कोरोना भाइरसले एक पछि अर्को गरी संक्रमित थपिदै गर्दा फेरि उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ । कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताएका छन् ।