Breaking News

लोकतन्त्रमाथि प्रहार गर्दै पुरानै नेपाली राजनीतिको शैलीको पुनरावृत्ति

बैशाख ९, काठमाडौं । हिजो अपरान्ह सोमबार नेपाल सरकारले जारी गरेका दुई अध्यादेशप्रति साझा पार्टीले आपत्ति जनाएको छ । पार्टीका संयोजक रविन्द्र मिश्रले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीको अधिनायकवाद तर्फको डरलाग्दो आकांक्षा प्रकट भएको आफ्नो पार्टीको ठहर रहेको बताएका छन् । दुई तिहाईको बहुमत प्राप्त सरकार जनतामा काण्डै काण्ड ठेली आम विश्वास गुमाइसकेपछि जसरी पनि आफुलाई सत्तामा कायम राख्न निरंकुश, व्यक्तिवादी सोच हावी भएको उनको भनाइ उल्लेख गरेको छ ।
दुबै अध्यादेश प्रधानमन्त्री ओलीद्वारा आफ्नै पार्टीका अर्का अध्यक्ष तथा शीर्ष नेतृत्वसँग समेत छलफल नगरी छापामार शैलीमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिएको थियो । देश कोरोनाभाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको साझाको धारणा छ ।
मिश्रले विज्ञप्तीमा भनेका छन् , संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभइ पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास र लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकि करणको मान्यतामाथिको नाङ्गो आक्रमण हो ” विज्ञप्तिमा भनिएको छ । यस्तै कोरोना विपद्का बेला समेत चरम भ्रष्टाचार हुँदा र सरकारले गरिरहेको नेतृत्व बढ्दो रूपमा विफल देखिँदै जाँदा राजनीतिक स्थिरतामा आँच पुर्याउन हुँदैन भनेर प्रधानमन्त्रीलाई निरन्तर साथ दिइरहेका जनताको घोर अपमान भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सिँगो नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गन सक्ने र यसले आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्यमान्यता माथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैलीको पुनरावृत्ति गरेको दाबी गरेका छन् ।

कदर समाचार

लेखक : रबिन्द्र मिश्र, संयोजक साझा पाटी