Breaking News

प्रदेश २ कोे काँग्रेस हाँक्ने नेतृत्वको लागि चुनाव हुँदै

७ पुस, जनकपुरधाम । नेपाली कांग्रेस १४ औं महाधिवेशन त सकिएर नयाँ नेतृत्व समेत आइसकेको छ । तर विवाद समाधान नभएपछि प्रदेश २ को अधिवेशन भएको थिएन । २ नम्बर प्रदेशमा काँग्रेस हाँक्ने नेतृत्वका लागि आज निर्वाचन भइरहेको छ ।

उम्मेदवारी दर्ताको समय हिजो राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३० बजेसम्म उम्मेदबारी फिर्ताको समय निर्धारण गरिएको
थियो ।

निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।

रामसरोजलाई निधीका साथै डा. शेखर कोइराला समूहले समेत समर्थन गरेका छन् । निधी र कोइराला समूहबाट रामसरोजको प्यानल तयार भएको छ ।

रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदेश सांसद समेत रहेका सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् ।

कृष्णा यादवको प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।

सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले महामन्त्रीमा उम्मेदवारी दिँदा सहमहामन्त्रीमा सप्तरीका पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका सदस्य अरुण यादवका अनुसार ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी परेको छ ।