प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएका थिए

एमाले अध्यक्ष केपी शर्मा ओली

२९ मंसिर, काठमाडौं । प्रमुखप्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन्।

प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ ।

मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’

त्यसपछि ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँच बुँदे सहमति भएको बताउँदै ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’

त्यही सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीको दाबी छ । ‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

यहीं काठमाडौंमा हामीले देख्यौं, थापाथलीदेखि हिंडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्नेहरु ? कसरी युवाशक्तिलाई दुरुपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’

प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरुले खाइरहेको ओलीले बताए ।