२७ मंसिर, काठमाण्डौ । नेकपा एमालेको आतबार बसेको केन्द्रीय कमिटी बैठकका निर्णयप्रति असन्तुष्टि जनाएका छन् पूर्व उपाध्यक्ष डा. भीम रावलले । नेता रावलले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको बताए ।
बैठक सकिएलगत्तै ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो ।’ नेता रावलले यस्तो प्रवृत्ति हट्नु पार्टीमा हितमा हुने बताएका छन् ।