२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आज एक कार्यक्रमगरी महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै आफू महामन्त्रीमा उठ्नका कारण बारे अवधारणा प्रस्तुत गरेका छन । थापाले आज काठमाण्डौंमा एक कार्र्यक्रम गरी आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।
‘मेरो सभापतिमा को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिन । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु’ उनले भने ।
पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उनले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताए ।
आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गरे ।
‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।
आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।