२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट काठमाण्डौंमा सुरु हुँदैछ । नेतृत्व चयनका लागि संस्थापन पक्षबाट निवर्तमान सभापति एकल छन भने संस्थापनइतरबाट नेतृत्वमा दावी गर्ने हरु धेरै छन् । तर मुख्यतय अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह र शेखर कोइराला छन् । अर्का प्रत्यासी महामन्त्री शशांक कोइरालाले भने रेस छोडिसकेका छन् । तर पनि सो समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ ।
वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।
तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समूहका केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार छान्ने अधिकार आफूहरुलाई दिन माग गरेका छन् ।
‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमा सहभागी एक नेता भन्छन् ।
सभापतिका चार आकांक्षीलाई नबोलाइएको बिहीबारको एक बैठकमा केन्द्रीय सदस्यहरुबीच विभिन्न विकल्पमा छलफल भएको थियो । एउटै उम्मेदवार तय नगर्दासम्म जित्ने सम्भावना नरहेको तथा सिंह र कोइराला दुबैले अडान नछाडेको अवस्थामा वरिष्ठ नेता पौडेल नै साझा उम्मेदवार हुनसक्ने नेताहरुको विश्लेषण छ ।
बैठकपछि केन्द्रीय सदस्यहरुको प्रतिनिधिका रुपमा अर्जुनरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य, पूर्वमहामन्त्री प्रकाशमानलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । तर सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान राखेका छन् ।
आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’ आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेलबाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको तर्क छ ।
‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमा सहभागी एक नेता भन्छन् ।