Breaking News

ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात

२३ मंसिर, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने सिष्टमको सुरुवात गरेको छ ।

आज बिहीबारबाट ‘पे फाइन अन द स्पोर्टस्इ-नस्ट्यान्ट पेमेण्ट सिस्टम’ लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारी साधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक सेवा आधुनिक र प्रविधियुक्त हुँदै गएको बताए ।

उनले अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिनुपर्ने समस्या समाधान भएको बताए । उनले अहिलेसम्म कारबाहीका लागि बनाइएको एप ५ वटा मोबाइलमा मात्रै प्रयोग गरिएको र बिस्तारै यसको संख्या बढाउँदै जाने बताए। प्रमुख भट्टराईले कारबाहीमा परेकाहरुको अब डिजिटल इन्ट्री गरिने र तत्काल रकम भुक्तानी गरी कागजात फिर्ता लिन मिल्ने बताए ।

‘अहिलेको सिस्टम हामी चिट काट्थ्यौं, त्यसपछि बेलुका त्यो कागजपत्र अफिसमा आउँछ, त्यो बीचमा उहाँले अनलाइनबाट पनि तिर्न सक्नुहुन्छ, बैंकमा गएर पनि तिर्न सक्नुहुन्छ । बेलुका हाम्रोमा ल्याएर इन्ट्री गरेपछि कागजपत्र फिर्ता पाउनुहुन्थ्यो । यसलाई सहज र सरलीकृत गर्न, कोरोनाको यस्तो बेलामा सहज बनाउनुपर्छ भनेर फिल्डबाट नै मुक्ति दिन यो व्यवस्थाको शुरुवात गरेका हौं’ उनले भने, ‘डिजिटल इन्ट्री फिल्डमा नै हुन्छ । पहिलेको जस्तो कागजपत्र अफिसमा ल्याएर इन्ट्री गरेपछि मात्रै कागजपत्र पाउने सिस्टम हटेर यो सिस्टम लागू हुन्छ । कसैले तत्काल लिन चाह्यो भने रकम भुक्तानी गरेर तत्काल लिन सकिन्छ । उहाँले अनलाइन वा क्यूआर कोडबाट तिर्न सक्नुहुन्छ ।’

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी ५ ठाउँमा यो सेवा सुचारु गरेको महाशाखाले जनाएको छ ।

त्यस्तै मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका सवारीसाधन चालकहरुका लागि भने रकम भुक्तानी तत्काल गर्न पाए पनि महाशाखामा गएर सचेतना कक्षा नलिएसम्म कागजात पाउने छैनन् ।