उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता

१३ मंसिर, काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनको हिजो राती अध्यक्ष ओेलीले आफु अध्यक्ष रहेको ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरे पछि त्यसको प्रतिकारमा उपाध्यक्ष भिम रावल र घनश्याम भूसालले यो विधि नमान्ने र हारे पनि निर्वाचन प्रक्रियाबाट नेतृत्व छान्ने अडान राखेपछि आज बिहानबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भिम रावलले उम्मेदवारी दिइसकेका छन् भने उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव भूसाल र सचिव आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन ।

आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका थिए । यसैगरी उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ प्रस्तावित छन् ।

महासचिवमा शंकर पोखरेललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ओलीले प्रस्ताव गरेका छन् ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।