सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर ४ जनाले तयार पारेको ३०१ जनाको केन्द्रीय कमिटीको सूची ओलीको हातमा अन्तिम रुप दिन बन्दसत्रमा पेश गरिने

१२ मंसिर, कामाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको आज अन्तिम दिन सौराहमा बिहानैदेखि अन्यौलता र वार्ता पनि चलिरहेको छ । यसै क्रममा प्राप्त समाचार अनुसार आज दिनभरी ओली निकट चार नेताले ३०१ केन्द्रीय सदस्यको नामावली सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।

एमालेको दशौं महाधिवेशन हिजोका बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटी चयनको जिम्मा अध्यक्ष ओलीलाई दिएपछि भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ओलीले आज दिनभर संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले अनलाइखबरलाई बताए । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।