Breaking News

राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको निम्तोलाई स्वीकार्दै एमाले महाधिवेशन उद्घाटन समारोह चितवनको नारायणी किनारामा पार्टीको तर्फबाट शुभकामना दिन गएको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने बताएका छन् ।

एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’

आफूहरू केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे ।

नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए । कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको भनाइ राखेका थिए ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, लीलामणि पोखरेल