१० मंसिर, काठमाण्डौ । सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलबारे बार महासचिव लीलामणि पौडेलले भने, ‘सर्वोच्च अदालतमा देखिको वर्तमान समस्याको निकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्यो, नेपाली काँग्रेस पार्टीको तर्फबाट पहल हुनुपर्यो भन्ने कुरा हामीले राख्यौँ ।’ छलफलका क्रममा मङ्सिर ६ गते बारले सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि बुझाएको थियो । उनले भने, ‘अस्ति जसरी सभामुख र राजनीतिक दलका संसदीय दलमा हामीले ज्ञापनपत्र बुझाएका थियौँ । त्यही ज्ञापनपत्र प्रधानमन्त्रीज्यूलाई बुझायौँ । हामीले लिखित डकुमेन्टका साथै आफ्नो मौखिक रूपमा पनि कुरा राख्यौँ ।’