एमाले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री देउवा चितवन जाने तय, प्रचण्डको अनिश्चित, माधव नेपाललाई निम्तो नै आएन

९ मंसिर, काठमाण्डौ । नेकपा एमालेको भोलि मंसिर १० गतेबाट १०औं महाधिवेशन सुरु हुँदैछ । एमाले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसकेका छैनन् ।

महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

प्रचण्ड महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहुन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइनसकेको बताइएको छ ।

सत्तागठबन्धन कै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सबै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन ।