९ मंसिर, काठमाण्डौ । सर्वोच्च अदालत प्रशासनले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार अपरान्ह २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालत स्रोतकाअनुसार बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको जानकारी गराएको छ । यद्यपि फुलकोर्टको एजेण्डा के–के छ भन्नेबारे भने सर्वोच्च प्रशासनले जानकारी गराएको छैन ।
यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।