कोभिड -१९ को महामारीबाट अमेरिकामा हालसम्म ४१ हजारको मृत्यु

कदर न्यूज

८ वैशाख, काठमाडौं । कोभिड १९ को महामारीले हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार भन्दा बढी रहेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३७९ जनाको मृत्यु भएको जनाएको छ ।
साथै ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताएका छन् । अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबी समेत गरे । साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।
उनले महामारी फैलिनबाट रोक्नका लागि भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर कुमोलाई धन्यवाद समेत दिएका छन् ।
अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्क हो । यद्यपि न्यूयोर्कमा भने नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । यदि कोरोना संक्रमणका नयाँ बिरामीको संख्या यसैगरी घटिरह्यो भने न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो हुँदै गएको मान्नुपर्छ । तर यो स्थिति यस्तै रहन्छ कि रहँदैन भन्ने कुरा अहिल्यै केही भन्न सकिँदैन । आगामी सातादेखि न्यूयोर्क राज्यभर कोरोनाको एन्टीबडी टेस्टिङ अभियान सुरु गरिने बताएका छन् । संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन हरेक हप्ता १४ हजार जनाको कोरोना टेस्ट गरिने समेत बताएका छन ।