लकडाउन कहर : रिसको झोकमा छोरीको घाँटी थिची हत्या

८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ बर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सर्राफले ७ बर्षकी छोरी अंशुकुमारी सर्राफको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय पर्साकाले जानकारी दिएको छ । सञ्जयले छोरीको घाटी थिचेर हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको र घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
२०७६ चैत ११ गते दिउँसो सवा २ बजे अंशुले घरको माथिल्लो कोठाको भित्ताको किलामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो । पासो लगाई झुण्डिरहेको अवस्थामा बाबु सञ्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा र्पुयाएको र अस्पतालले मृत घोषणा गरेको दावी गरिएको परिवारको भनाइ थियो । तर प्रहरी अनुसन्धानका क्रममा बाबुले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर उनको मृत्यु भएको
थियो । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन शुरु भएको दिन अंशुले बाहिर जान जिद्दि गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजान भन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी दवाएका थिए ।
छोरीको मृत्यु भएपछि झस्केका सञ्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । अझै तथ्य रिर्पोट नआएकाले घटना अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।