राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा

९ मंसिर, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठकाण्डौंको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।

उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए । पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्न, तपाईले अध्यक्षमा कमल थापालाई जित्नुहोला त भख्दा लिङ्देनले भने, ढुक्क हुँदै भने, ‘जितिन्छ जितिन्छ । जित्नलाई समस्या छैन । खासगरी कुन मोडलबाट जाने भन्ने मात्रै हो । भैगो नि त भनेर शीर्ष नेताहरुले नै भन्ने अवस्था आउँछ कि ? राप्रपाका कार्यकर्ताहरु त उहाँ (कमल थापा) बाट थाकिसके नि । जित्नमा मलाई कुनै समस्या छैन ।’

पत्रकार सम्मेलनमा उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको बताए । ‘मलाई लाग्छ, यो हाम्रो अभियानले नेपालको राजनीतिलाई नै एउटा दिशा दिन्छ । सबै राजनीतिक पार्टीहरुले पुस्तान्तरणको कुरा चाहिँ गर्ने, नेतृत्व असफल भयो चाहिँ भन्ने तर त्यहाँ रहेका नयाँ पुस्ता, युवा हुँ भन्नेहरुले कसैले आँट नगर्ने र नेताहरुको चाकडीमै चित्त बुझाउने गरिरहेका छन्,’ लिङ्देनले भने, ‘ नयाँ पुस्ता भनिएकाहरुबाट पुरानो फेलियर नेतृत्वलाई नै निरन्तरता दिने जुन काम भइरहेको छ, त्यसलाई भत्काउने एउटा सिलसिलाको प्रारम्भ हो यो ।’