बंगलादेशलाई दोस्रो खेलमा ८ विकेटले हराउँदै पाकिस्तानले तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जित

एजेन्सी

घरेलु टोली बंगलादेशलाई दोस्रो खेलमा ८ विकेटले हराउँदै पाकिस्तानले तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ।

शेरे बांग्ला नेसनल स्टेडियममा शनिबार बंगलादेशले दिएको १०९ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले २ विकेट गुमाउँदै भेटायो।

पाकिस्तानको जितमा फखर जमानले सर्वाधिक अविजित ५७ रन बनाए। ५१ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै मोहम्मद रिजवानले ४५ बलमा ४ चौका मद्दतले ३९ रन बनाए। कप्तान बाबर अजाम १ रनमा आउट भएका थिए।

बंगलादेशर मुस्तफिजुर रहमान र अमिनुल इश्लामले समान एक(एक विकेट लिए।

ओपनर बाबर आजम सस्तैमा आउट भएपछि रिजवान र जमानले दोस्रो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जित निश्चित गरे।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोली बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०८ रन बनाएको थियो।

बंगलादेशको लागि नज्मुल स्यान्टोले सर्वाधिक ४० रन बनाए। यस्तै अफिफ होसेनले २०, महमुदुल्लाहले १२ तथा नुरुल हसनले ११ रन बनाए।

पाकिस्तानका लागि शाहिन साह अफ्रिदी र शदाब खानले समान दुई(दुई विकेट लिए भने मोहम्मद वासिम, हरिस रौफ र मोहम्मद नवाजले समान एक(एक विकेट लिए।

यसअघि सिरिजको पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो। सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ। त्यसपछि दुई टिम बीच दुई वटा टेस्ट सिरिज शुक्रबारदेखि सुरु हुनेछ।