काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ ।
रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ ।
जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित टी-२० को माथिल्लो वरीयतामा रहेको तर विश्वकपमा छनोट नभएका नेपाल, युएई, सिंगापुर र जिम्बाब्बे सिधै ग्लोबल क्वालिफायरमा पुगेका छन् ।
यस्तै एसिया क्षेत्र छनोटबाट बहरानइन र हङकङ, इस्ट एसिया प्यासिकबाट फिलिपिन्स, युरोपबाट जर्सी र जर्मनी तथा अमेरिका क्षेत्रबाट अमेरिका र क्यानडा छनोट चरण पार गर्दै ग्लोबल क्वालिफायरमा पुगेका हुन् ।
एसिया क्षेत्रको समूह बी को प्रतियोगिता रद्द हुँदा हङकङ छनोट भएको हो भने इस्ट एसिया प्यासिफिकको छनोट पनि रद्द हुँदा फिलिपिन्स छनोट भयो ।
ग्लोबल क्वालिफायरमा एसियाबाट सर्वाधिक ६ टिम छन् । यस्तै युरोपबाट चार टिम रहँदा अफ्रिकाबाट दुई, अमेरिकाबाट दुई र इस्ट एसियाबाट दुई टिम छन् ।
टी-२० विश्वकपका लागि अर्को वर्ष फेब्रुअरी र मे महीनामा ग्लोबल क्वालिफायर हुनेछ । जहाँ १६ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहबाट शीर्ष २-२ टिम अर्को वर्ष अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । नेपालले छनोट भएर सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो । त्यसपछिको दुई संस्करणमा भने नेपाल छनोट हुन सकेन ।