मुगु गमगढी बजारमा आगलागी १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट

३० कात्तिक, काठमाडौं । मुगु सदरमुकाम गमगढी बजारमा हिजो राती आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिएका छन् ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए ।