३० कात्तिक, काठमाडौं । सरकारले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरेपछि त्यसकोे विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेका कारण यात्रुहरुले सास्ती र दु:ख पाएका छन् ।
काठमाण्डौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् भने सार्वजनिक गाडीहरू थोरै मात्रामा चल्दा काम विशेषले गन्तव्यमा स्थलमा जान चाहनेहरुले सास्ती पाएका छन् ।
विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।
काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना भएको भने छैन ।