छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् । घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन । जानकारी अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।
बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।