Breaking News

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बागमती प्रदेशसभा संसद्बाट विश्वासको मत लिदै

बागमती प्रदेशको एमाले अष्टलक्ष्मी शाक्यको सरकारलाई पतच्युत गरेर नवनियुक्त मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डेले आज बागमती प्रदेशसभा संसद्बाट विश्वासको मत लिने भएका छन् । गएको कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आज ३ बजे विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (कीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ । विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रदेशसभामा आवद्ध दलका सदस्यहरुले क्रमशः आफ्ना धारणा राख्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि मत विभाजन हुनेछ ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।

बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २र२ र जसपाको एक जना सांसद् छन् । जसपा गठबन्धनमा रहेकाले यस अघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउन पक्षमा हस्ताक्षर गरिसकेको छ । यता, विवेकशील साझा पार्टीसहित अन्य दलले भने यस बारेमा प्रतिक्रिया दिएका छैनन् ।