प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त

नेपाल बार एशोसिएशनका उपाध्यक्ष, ईश्वरीप्रसाद भट्टराई

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाएका हुन् ।

‘हामीले भद्र कार्यक्रम गरिरहेका छौँ । हामीले अदालत बहिष्कार गरेका छैनौँ । इजलास हामीले बहिष्कार गरेका छैनौँ । अदालतमा मुद्दा सुनुवाइ गर्न स्थगित गर्न भनेका छैनौँ । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरूको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ । तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्ग प्रशस्त गर्नुहोस् । सम्माननीय प्रधानन्यायाधीशको प्रतिष्ठा र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पनि मार्ग प्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले इतिहास लेखिनेछ। उहाँले मार्ग प्रशस्त गरे सबैको हित हुन्छ ।’

उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरूले मार्ग प्रशस्त गर्नुहोस् भनेको स्मरण गराए । उनले आफूहरूले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।

उनले भने,‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरूको नाम सार्वजनिक गर्नुहोस् भन्यौँ । प्रारम्भदेखि यी विषय उठाएका छौँ । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौँ । राजनीतिक दलहरूको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौँ । दलहरूबाट न्यायपालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरूलाई पदक दिने काम
भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले खेलेको भूमिका, न्यायाधीशहरूलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायपालिकाको गरिमा भङ्ग हुनेछ ।’