माओवादीका ४ सीटमा कसले मार्ला उपचुनावमा बाजी ?

प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् । माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची  क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए । अबको केही महिनामा यी चारवटै क्षेत्रमा उपचुनाव हुँदैछ  ।



माओवादीले जितेका यी चारवटै क्षेत्रमा ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले त्यो गठबन्धन भत्किएको छ भने स्वयं एमालेसमेत चोइटिएर कमजोर बनेको छ । यी चार क्षेत्रमा माओवादी पनि फुटेको छ । किनभने, जननिर्वाचित सांसदहरु नै माओवादी छाडेर एमालेतिर लागेको स्थिति छ । माओवादी केन्द्रका सांसदले दल त्याग गरेका कारण यहाँ माओवादी पनि कमजोर बनेको छ ।

त्यसैले यी चारवटा संसदीय चुनाव क्षेत्रमा गठबन्धनबिनै उम्मेवार खडा गर्ने हो भने एमाले वा माओवादी दुबैले जित हात पार्न मुस्किल देखिन्छ । किनकि, कम्युनिस्ट पार्टी फुटेको स्थितिमा यहाँ अहिले नेपाली कांग्रेस बलियो शक्तिका रुपमा देखिएको छ ।

उपनिर्वाचन हुन लागेका प्रतिनिधिसभाका चारवटै सिटहरु यसअघि माओवादीले जितेका सिट हुन् । अबको उपचुनावमा सत्तापक्षीय गठबन्धनले सबै सिटमा माओवादीलाई भोट हाल्छ या चार सिटमध्ये काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक–एक सिट भाग लगाउँछन् ? यो भने स्पष्ट भइसकेको छैन ।

​अब उपचुनाव हुन लागेका चारवटै निर्वाचन क्षेत्रको गणितीय चित्र हेरौं–

प्रभु साहको क्षेत्र : रौतहट ३

 

रौतहट क्षेत्र नम्बर ३ बाट एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रभु साहले २०७४ सालको प्रतिनिधि सभा चुनावमा २७ हजार ७९९ मत ल्याएका थिए ।  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार यादवले १८ हजार २०६ मत ल्याएका थिए । उनीहरु बीचको मतान्तर ९ हजार ५९३ थियो ।

यस क्षेत्रमा ०७४ को चुनावमा राजपा नेपालका उम्मेदवार ओमप्रकाशले १४ हजार ६५८ मत ल्याएका थिए । अब हुने उपनिर्वाचनमा प्रभु साहलाई यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उठ्ने सम्भावना छ । यहाँ माओवादीले आफ्नो पुरानो बर्चस्व कायमै रहेको देखाउनुपर्ने चुनौती छ ।

टोपबहादुर रायमाझीको क्षेत्र : अर्घाखाँची १

२०७४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । दुई उम्मेदवारबीच १८ हजार २९३ मतान्तर थियो ।

टोपबहादुर रायमाझी यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् । तर, एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ । माओवादीलाई भने यहाँ पनि आफ्नो बर्चस्व देखाउनुपर्ने चुनौती छ ।

लेखराज भट्टको क्षेत्र : कैलाली ४

कैलाली क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट तत्कालीन माओवादी नेता लेखराज भट्ट निर्वाचित भएका थिए । २०७४ सालको चुनावमा भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनील कुमार भण्डारीले २० हजार ९ सय ६० मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार गीता क्षेत्रीले ३ हजार १ सय ७३ मत ल्याएकी थिइन् ।​

यहाँ काँग्रेसका उम्मेदवारको तुलनामा भट्टले १० हजार ३ सय ९९ मत बढी ल्याएका थिए । पछिल्लो फेरिएको राजनीतिक शक्ति सन्तुलनका कारण यो क्षेत्रका नेता भट्टले अघिल्लो चुनावमा पाएको मत बाँडिने निश्चित छ । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई कैलालीका एमालेका मतदाताले सहज रुपमा स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने प्रश्न पनि छ । अर्कोतर्फ, पार्टी फुटेपछि सुदूरपश्चिममा एमालेको हालत खराब रहेको छ । भट्टलाई फेरि जित सुनिश्चित गर्न यो क्षेत्रमा चुनौती देखिन्छ ।

तर, माओवादीले पनि काँग्रेसको साथ नपाउने हो भने पुरानो जीतलाई जोगाउन मुस्किल पर्ने देखिन्छ ।

गौरीशंकर चौधरीको क्षेत्र : कैलाली ३  

कैलाली क्षेत्र नम्बर ३ बाट २०७४ सालको चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार बनेका माओवादी नेता गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । यस्तै राजपाले ४ हजार ४४ मत र नेकपा मालेले ३ हजार २५५ मत पाएका थिए ।

यहाँ गौरीशंकर र रामजनम चौधरीको मतान्तर ४ हजार ३ सय ८५ रहेको थियो । तत्कालीन अवस्थामा बलियो रहेका एमाले र माओवादीको संयुक्त मतभन्दा ४ हजार मतले कांग्रेस पछाडि देखिएको थियो । यो क्षेत्रमा विना गठबन्धन उम्मेदवार उठ्ने हो भने कांग्रेसले जित निकाल्ने स्पष्ट देखिन्छ । तर, माओवादीलाई यहाँ पनि पुरानो जित जोगाउनुपर्ने चुनौती छ ।

 राताेपाटी