फूलकोर्टको बैठक बहिस्कार : नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग

चरम बिवादमा तानिएका प्रधानन्यायधीश चोलेन्द्र समशेर राणालाई कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।

आज बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिएका थिए । तर यस सम्बन्धमा बारले सल्लाहकार समितिको बैठक राखेर मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बारले भोली मंगलबारका लागि सल्लाहकार समितिको बैठक आव्हान गरेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारीको सहभागिता हुनेछ ।

यसअघि नेपाल बारले आइतबार मात्रै प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए ।

तर सोमबारको फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेपछि सोमबार फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर सहजीकरण गरिदिनुपर्ने निष्कर्ष निकालेको हो ।