बागमती प्रदेश सरकार नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति

४ कात्तिक, काठमाडौं । बागमती प्रदेश अष्टलक्ष्मी नेतुन्वको एमाले सरकार ढल्ने क्रममा छ । विपक्षी गठबन्नका तर्फबाट नेतृत्वमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ ।

प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको बुझिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले प्रदेशसभाको कार्यकालको आधा–आधा समय एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको बताए ।

‘यो माथि (गठबन्धनको शीर्ष तहमै) नै टुंगिएर आएपछि हामीले गर्ने त्यही हो’ उनले भने, ‘माथिबाट आधा आधा कार्यकाल एकीकृत समाजवादी र कांग्रेसले लिने सहमति भएर आएको छ ।’

नेकपा एकीकृत समाजवादीका नेताहरुले भने मुख्यमन्त्री पद आधा आधा कार्यकाल बाडफाँट गर्ने सहमतिबारे अनभिज्ञता प्रकट गरेका छन् । एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आलोपालाको सहमति नभएको जिकिर गरे ।

बिहीबार गठबन्धनका दलहरुबीच ३ बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद गठन र राजनीतिक नियुक्ति सहमतिका आधारमा गर्ने उल्लेख गरिएको उनले बताए । ‘३ बुँदे सहमति भएको हो, अरु कुरा थाहा छैन’ लम्सालले भने ।

हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ ।