४ कात्तिक, काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रश्न उठेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरू भएको बैठकमा दश बुँदे सहमति गरी एमालेमै रहेका नेताहरुले ओलीसँग जवाफ मागेका थिए ।
बागमती प्रदेश आयोजक कमिटीको बैठकमा बुधबार अध्यक्ष ओलीले माधव नेपालले पार्टी नफुटाओस् भनेर मात्र १० बुँदे सहमति गरिएको भन्दै अब त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए । ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर दश बुँदे गरिएको थियो । अब के दश बुँदे, दश बुँदे, दश बुँदे’, ओलीको भनाइ थियो ।
बुधबार नै उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा भने नेताहरु रघुजी पन्त र घनश्याम भुसालले ओलीसँग जवाफ मागे ।
बैठकको शुरुमै पन्तले ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । ‘तपाईंले हिजो के बोल्नुभएको रु जुन कुरा कार्यान्वयन गर्नैपर्नेछ’, पन्तले सोधेका थिए । बैठक स्रोतका अनुसार, १० बुँदे सहमति गर्ने बेला ओलीले बोलेको कुरा समेत पन्तले सम्झाएका थिए ।
‘माधव नेपाल नआए पनि म दश बुँदे कार्यान्वयन गर्छु भन्नुभएको होइन रु तर अहिले माधव नेपालका लागि हो भन्न मिल्दैन’, पन्तको भनाइ थियो । दश बुँदे सदाकालका लागि नरहने, तर आउँदो महाधिवेशनसम्म कार्यान्वयन गरिसक्नुपर्ने पन्तले बताए ।
भावनात्मक र मनोवैज्ञानिक रुपमा पार्टी विभाजित अवस्थामै रहेको भन्दै पन्तले त्यो भावनात्मक र मनोवैज्ञानिक विभाजनलाई मेट्ने कामको अगुवाइ पनि ओलीले नै गर्नुपर्ने धारणा राखे ।
‘पार्टीमा मनोवैज्ञानिक र भावनात्मक विभाजन छ । त्यसलाई मेट्नुपर्छ । त्यो मेट्ने कुराको अगुवाइ पनि अध्यक्षको हैसियतमा तपाईंले गर्नुपर्छ’, पन्तले भनेका थिए ।
पन्तले लामै समय बोलेपछि भने अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनबारे भोलि ९शुक्रबार० को बैठकमा छलफल हुने बताए । तर विधान महाधिवेशनको समीक्षाका क्रममा भुसालले ओलीसँग फेरि केही प्रश्न गरे ।
भुसालले अध्यक्ष ओलीमा नवौं महाधिवेशनको धङधङी बाँकी नै रहेको टिप्पणी गरे । त्यो धङधङी अभिव्यक्तिमा प्रकट भएको भुसालको आरोप थियो । ‘तपाईंसँग नवौं महाधिवेशनको धङधङी बाँकी नै छ, आग्रह र पूर्वाग्रह छदैछ’, भुसालले प्रश्न गरे, ‘यो कहिलेसम्म रु’
तर ओलीले भने आफूले कसैलाई पूर्वाग्रह नराखेको छोटो जवाफ दिए । बैठकपछि सचिव प्रदीप ज्ञवालीले दश बुँदे कार्यान्वयनबारे शुक्रबारको बैठकमा छलफल हुने बताएका छन् । ‘केहीकेही ठाउँमा समस्या छ, इस्यूमा छलफल गर्छौं । राष्ट्रब्यापी रुपमा छलफल चलाइरहनु पर्दैन’ ज्ञवालीको भनाइ थियो ।
गएको २७ असारमा १० बुँदे सहमति गरी माधव नेपालको पार्टीमा नगई स्थायी कमिटीका १० नेता एमालेमै बसेका छन् । उक्त १० बुँदे सहमतिमा मूलतः पार्टी संरचना २ जेठ २०७५ को अगाडिको अवस्थाबाट सञ्चालन हुने सहमति छ । तर सूदुरपश्चिम, बागमती र प्रदेश–२ का केही जिल्लामा सहमति कार्यान्वयन हुन सकेको छैन ।