कोमल वलीसहित चार नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

नेकपा एमाले बिधाोनले कोमल वलीलाई केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो ।

एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ । यी दुवै योग्यता वलीको हकमा नपुग्ने देखिएको छ । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

विधानको नयाँ व्यवस्थाले वलीसँगै जसपाबाट एमाले प्रवेश गरेका शिवजी यादव र राजकुमार लेखी तथा पूर्व उपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएका छन् ।

तर, पार्टी एकताका क्रममा एमाले प्रवेश गरेका अन्य नेताहरुलाई भने पूर्ववत् पार्टीको इतिहासलाई कायम गरिने भएकाले उनीहरु एमाले केन्द्रीय सदस्य बन्नबाट रोकिने छैनन् । उदाहरणका लागि माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ देखि टोपबहादुर रायमाझीलाई केन्द्रीय सदस्य बन्न विधानले छेक्ने छैन ।

एमाले नेता अग्नि खरेल पार्टी विधानमा यस्तो व्यवस्था राख्नु स्वभाविक भएको बताउँछन् । ‘एमाले जस्तो ठुलो पार्टीको केन्द्रीय सदस्य बन्न दश वर्षको मापदण्ड राखिनु सामान्य कुरा हो’, खरेलको भनाइ छ ।