काठमाडौं उपत्यकामा एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण : कुन मासुको मुल्य कति लिष्टसहित

२१ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको छ ।

सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।

वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । सो मूल्य अबको एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए । तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको मूल्यलाई तीन भागमा छुट्याएर मूल्य तोकिएको छ ।

आन्द्रा र भुँडी मिसिएको खसीको प्रतिकिलो मूल्य एक हजार रुपैयाँ तोकिएको छ । आन्द्रा, भुँडी र बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासुको प्रतिकिलो मू्ल्य १२ सय रुपैयाँ बनाइएको छ । यस्तै उपभोक्ताले छानेर खरिद गर्ने खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ तोकिएको अध्यक्ष खड्गीले बताए ।

यस्तै ब्रोइलर कुखुराको मासुको मूल्य तीन सय रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ । यस्तै उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा र बंगुरको मासुको प्रतिकिलो मूल्य पनि ५ सय रुपैयाँ किलो कायम गरिएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४ सय हाराहारी पर्ने संघको अनुमान छ ।

दशैंका लागि धेरैमा मानिसहरुले उपत्यका छोड्ने भएकाले उपत्यकामा सामान्य अवस्थाकै हाराहारीमा मासुको बिक्री हुने अनुमान व्यवसायीहरुको छ । उपत्यकामा दैनिक १२ सय वटा खसी काटिने गरेको अनुमान व्यवसायीको छ । त्यसबाहेक धेरै खसीबोका अष्टमीका दिन उपभोक्ताको घरमै काटिने भएकाले तयारी मासुको बिक्री कम हुने अध्यक्ष खड्गी बताउँछन् ।

यस्तै दैनिक तीनदेखि तीन लाख ५० हजार किलो कुखुराको मासु खपत दशैंमा पनि नियमित हुने संघको अनुमान छ । यस्तै आठ सयको संख्यामा राँगा र भैंसी, छ सय गोटा बंगुर र पाँच हजार किलो माछाको दैनिक खपत पनि यथावत नै रहने अध्यक्ष खड्गीले बताए ।

क्र.सं. मासुको प्रकार मूल्य
खसी मिसाइएको १०००/–
पसलेले छानेको १२००/–
उपभोक्ताले छानेर १३००/–
कुखुरा ३००/–
राँगा ५००/–
बंगुर ५००/–

स्रोतः राष्ट्रिय मासु व्यवसायी संघ