दुई राजेन्द्र केही दिनमा मुख्यमन्त्री बन्दै

प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार परिवर्तन हुने तर्फ अग्रसर छन् । दुबै प्रदेशमा एमालेबाट बिद्रोह गरेर निर्माण भएको पार्टी नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्न लागेको छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको बताएका छन्। दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ । यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो । तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।