पाकिस्तानमा ५.७ म्याग्निच्युटको भूकम्प २० जनाको मृत्यु कयौं व्यक्तिहरु घाइते

२१ असोज, काठमाडौं । आज बिहान पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पबाट २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् ।

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका दृष्य सामाजिक सन्जालमा सेयर गरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।