माओवादी वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिदै

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ । पूर्वमन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि बुधबार बिहान उनलाई बैंकक लैजान लागेको पारिवारिक स्रोतले जनाएको छ । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।